दस्तावेज – नेपालको ईतिहासको त्यो पहिलो घुस

नेपालको इतिहासमा जंगबहादुर कुँवर राणाको उदय हुनुलाई अँध्यारो युगको सुरुवात भनिन्छ ।

वि.सं. १९१४ असार महिनामा सिपाही विद्रोह दबाउन ६ रेजिमेन्ट र २७ तोप लिएर नेतृत्व गरी अंग्रेजको आग्रहमा सहयोग गर्न पुगेका जंगबहादुरले गोरखपुरदेखि इलाहावादसम्म २० ठाउँमा विद्रोह दबाउन सफल भएका थिए । त्यसैको पुरस्कारमा वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपालले फिर्ता पाएको इतिहास पढ्न पाइन्छ । यसवापत उनको देशप्रेम मात्र झल्किएन श्री ३ महाराजको पदवी पनि प्राप्त गरे ।

तर उनकै भतिजा चन्द्रशमशेरले प्रथम विश्वयुद्धमा नेपालले अंग्रेजलाई साथ दिएवापत बाँकी नेपालले अंग्रेजसँग लड्दा गुमाएको गोरखपुरदेखि लखनउ, देहरादुन, काँगडा, नालापानी फिर्ता गर्ने मनसाय व्यक्त गरेका थिए । तर, अंग्रेजबाट उनको ढुकुटीमा वार्षिक दश लाख नगद हालिदिने प्रलोभनमा परेपछि विशाल नेपाल हुन पाएन ।

कमिसनको लोभमा परेर चन्द्रशमशेरले बेलायती लुगा नेपालमा बेच्ने अनुमति दिएछन् तर इस्ट इन्डिया कम्पनीले ४ वर्षमै ५ पैसाबाट कपडाको मूल्य बढाएर ९ पैसा पुर्‍याएछ । चन्द्रशमशेरले कुरा उठाएछन्– ‘यो त, भएन !’ चलाख कम्पनीले भनेछ– ‘हिज् हाइनेस्, हजुरको पनि त १ पैसाबाट बढेर २ पैसा हुन्छ हजुर ।’

नेपालमा कमिसन र घुसको प्रचलन पनि चन्द्रशमशेरको पालाबाटै उपहार र नजराना हुँदै आज राजकीय स्वभाव र संस्कृति बन्न थालेको हो । यो हाम्रो जीवनशैली नै बनिसकेको छ । राणाशाही गए पनि त्यसका भएभरका कुलत हाम्रा शासकहरुसँगै अजम्बरी लहराझैं मनमस्तिष्कमा झ्याङ्गिएर फैलिएको छ । यही प्रसंगमा एउटा सानो सम्झना जोडीहालौं ।

विसं २०३१ को कुरा हो । हामीलाई पढाउने एकजना प्रोफेसर हुनुहुन्थ्यो प्रा.डा. साम्भदेव पाण्डे । नेपालमा पहिलो अर्थशास्त्रमा पिएचडी गर्नुभएको । रवाफिला, सधै‌ं लवेदासुरुवाल कोटमा आउनुहुने ।

उहाँ कक्षा कोठामा पसेपछि पिनड्रप साइलेन्स । उहाँले अर्थशास्त्रलाई कथाकै शैलीमा पढाउनुहुन्थ्यो । हामी मख्ख परेर सुन्थ्यौं । तर हामीले कुनै नोट नै गरेका हुन्नथ्यौं, उहाँ बाहिर निस्केपछि परीक्षामा के लेख्नेहोला भनी चिन्ता मात्र बाँकी हुन्थ्यो ।

उहाँले सुनाउनुभएको एउटा कथा यस्तो थियो–

“हेर बाबु हो ! हाम्रा आइमाईहरुले चन्द्रशमशेरको पालासम्म हाम्रै देशमा, हाम्रै किसानले उत्पादन गरेको कपासबाट धागो काती बुनेको छिटको धोती, घरबुना चोलो लगाउँथे । त्यसको मूल्य ९ पैसा मात्र पथ्र्याे । जब चन्द्रशमशेरको इस्ट इन्डिया कम्पनीसँग उठबस बढ्दै गयो कम्पनीले प्रस्ताव राखेछ– हिज् हाइनेस्, हजुरको देशमा बन्ने कपडा त्यति राम्रो पनि छैन, महँगो पनि पर्ने । बेलायतमा बनेको कपडा देख्नमा राम्रो, बलियो, नखुम्चने, रंग नखुइलिने अनि जम्मा ५ पैसा मात्र पर्छ ।’

यो सुनेपछि केही नबोली बसेका चन्द्रशमशेरलाई कम्पनीका प्रतिनिधिले भनेछ– ‘हिज् हाइनेस्, हजुरलाई यसबाट १ पैसा टक्राउँछौं, हामीलाई ४ पैसामात्र दिए पुग्छ ।’

अकुत सम्पत्तिमा लालच राख्ने चन्द्रशमशेरले मञ्जुरी दिएछन् । अब बेलायती लुगा नेपाल पस्न थालेछ । राम्रो, बलियो, सस्तो योभन्दा वेशी प्रजालाई के चाहियो ? कम्पनीले ४ वर्षमै आफ्नो सामानको मूल्य ९ पैसा पुर्‍याएछ ।
छिटोछिटो १०, १२, १५, २० पैसा हुँदै ब्रिटिस कपडाको मूल्य बढ्दै गयो । जब जनताले हैन यो समान धेरै महँगो भयो भनी नेपालमा नै बनेको खोज्न थाले, बजारमा कतै मिलेन । अब देशमा नै बनाउनुपर्‍यो भनी कुरा उठ्यो । किसानले कपास खेती बन्द गरेको वर्षौं भैसकेको थियो । चर्खा चुलोमा खरानी भैसकेको थियो । सीप मुग्लान पसिसकेको थियो ।

चन्द्रशमशेरले कुरा उठाएछन्– ‘यो त, भएन !’

चलाख कम्पनीले भनेछ– ‘होइन हिज् हाइनेस्, हजुरको पनि त १ पैसाबाट बढेर २ पैसा हुन्छ हजुर ।’

एवंरीतले छिटोछिटो १०, १२, १५, २० पैसा हुँदै कपडाको मूल्य बढ्दै गयो । जब जनताले हैन यो समान धेरै महँगो भयो भनी नेपालमा नै बनेको खोज्न थाले, बजारमा कतै मिलेन । अब देशमा नै बनाउनुपर्‍यो भनी कुरा उठ्यो । किसानले कपास खेती बन्द गरेको वर्षौं भैसकेको थियो । चर्खा चुलोमा खरानी भैसकेको थियो । सीप मुग्लान पसिसकेको थियो । पसल भने विदेशका सामानले टन्न थिए ।

अहिले हामी शिरदेखि पाउसम्म विदेशी भएका छौं । जनताका कन्तुरका असली चाँदीका टक्का उडिसकेका छन् । पृथ्वीनारायण शाह भने, ‘नयाँ सीप सिक, खानी संचालन गर, आफूले उपभोग गर्ने वस्तु देशमा नै तयार तयार गर, विदेशीलाई व्यापार गर्न छुट नदेऊ, मुलुक कंगाल हुन्छ ।’ तर हामी विस्तारै निकम्मा बन्दै गएको चालै पाएनौं ।