इखले दिलाएको ऐतिहासिक पदक

सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी धाविका पुष्पा भण्डारीले म्याराथनतर्फ सहभागिता जनाएकी थिइन्।

४२ किलोमिटरको दौड उनले ३५ किलोमिटर दौडेपछि बीचैमा छाड्नुपर्‍यो। त्यसबेला भारत पुगेपछि बिरामी भएकी पुष्पाले दौड पूरा गर्न सकेकी थिइनन्।

इच्छा हुँदाहुँदै पनि शरीरले नै साथ नदिएपछि के गर्ने? उनको इच्छा अहिले पूरा भएको छ।

उनले शनिबार म्याराथन दौड पूरा मात्र गरिनन् नेपालका लागि ऐतिहासिक रजत पदक पनि दिलाइन्।

साग म्याराथनमा नेपाली महिला धाविकाले रजत जितेको यो पहिलो हो।

बिहान दशरथ रंगशालाबाट सुरू भएर कलंकी-सातदोबाटो हुँदै भक्तपुर सूर्यविनायकबाट फर्किएर ४२ किलोमिटर दौड पूरा गरेपछि पुष्पा खुसी देखिन्थिन्।

‘१२ औं सागमा दौड पूरा गर्न सकिनँ,’ उनले भनिन्, ‘त्यो पीडा भुलाउन १३ औं सागमा रजत जित्न पाउँदा निकै खुसी छु।’

उनले दुई घण्टा ५० मिनेट ११ सेकेन्डमा दौड पूरा गरेकी हुन्।

उनले आफ्नो समयमा १० मिनेट सुधारसमेत गरेकी छिन्।

यसअघि उनले आठौं राष्ट्रिय खेलकुदमा तीन घण्टा १० सेकेण्डमा दौडिएकी थिइन्।

स्वर्ण जितेकी श्रीलंकाकी हिरुणी विजेरत्नले निर्धारित दूरी दुई घण्टा ४१ मिनेट २४ सकेन्डमा पूरा गरिन्।

भारतकी ज्योति ज्ञावतले कास्य जितिन्।

उनले निर्धारित दूरी २ घण्टा ५२ मिनेट ४४ सेकेन्डमा पूरा गरिन्।

‘अमेरिकामा बसेर प्रशिक्षण गर्ने श्रीलंकन खेलाडी स्तरीय छिन्,’ उनले भनिन्, ‘उनी जस्ता खेलाडीसँग खेल्न हामीले धेरै मिहिनेत गर्नुपर्छ। अहिले मैले आफ्नो समय सुधार गरेको छु, यसमै खुसी छु।’

२०६९ देखि सशस्त्र प्रहरी बलमा आबद्ध सल्यालकी २४ वर्षीया पुष्पा आफ्ना बुवाको प्रेरणाले सागमा पदक जित्न सफल भएको बताउँछिन्।

उनले ११ वर्षको उमेरमै दौडमा भाग लिन थालेकी थिइन्।

गाविसमा पहिलो भएकी उनी इलाका स्तरमा पनि पहिलो भइन्। तर जिल्लामा भने अन्तिम स्थानमा दौड पूरा गरिन्।

‘स्कुलमा लामो दौडमा पहिलो भएपछि मैले जिल्लासम्म खेल्ने अवसर पाएकी थिएँ। तर जिल्लामा अन्तिम पो भएँ,’ उनले भनिन्, ‘त्यसपछि खेलाडी बन्ने इच्छा त्यागेर पढाइमा केन्द्रित भएँ।’

५ वर्षपछि उनी फेरि खेलमा फर्किइन्।

२०६८ मा धनगढीमा हुने छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोटमा भाग लिइन्।

जिल्ला र क्षेत्रीय हुँदै उनले १५ वर्षको उमेरमै राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने पक्का भयो। धनगढीमा भएको राष्ट्रिय खेलकुदमा उनले म्याराथनमा रजत पदक हात पारिन्।

तर उनको प्रतिभालाई कसैले देखेनन्।

उनका लागि २ वर्षसम्म पनि राष्ट्रिय टिमका लागि ढोका खुल्न सकेन।

‘१५ वर्षको उमेरमा रजत जितेको झण्डै २ वर्षसम्म पनि कसैले वास्ता गरेन,’ उनले भनिन्, ‘खेलेर केही नहुने रहेछ भनेर पढाइमा ध्यान दिन थालेँ।’

२०६९ मा राष्ट्रिय खेलकुद परिषद्ले लुम्बिनी च्याम्पियनसिप आयोजना गर्‍यो। जुन च्याम्पियनसिपमा उनले विभागका खेलाडीलाई चकिद पार्दै स्वर्ण जितिन्। त्यसपछि भने उनी सशस्त्र प्रहरीमा करारमा आबद्ध हुन सफल भइन्। २०७५ सालदेखि उनी स्थायीरूपमै सशस्त्र प्रहरीमा भर्ना भएकी छिन्।

सशस्त्रमा आबद्ध भएपछि उनको खेल करिअरले गति लिइरहेको छ।

सशस्त्रले खेल्ने वातावरण मिलाए पनि खेलाडी हुनुको श्रेय उनी आफ्नो बुवालाई दिन चाहन्छिन्।

‘गाउँमा कसैले छोरी पढाउन हुन्न भन्ने बेलामा मेरो बुवाले छोरीहरूलाई स्कुल पठाउनु हुन्थ्यो। कतिपयले मेरो बुवालाई गाउँबाटै लखेट्नु पर्छसम्म भने,’ उनले भनिन्, ‘सायद मेरो बुवाले हामीलाई रोकेको भए अहिले म यो स्थानमा आइपुग्ने थिइनँ।’

शनिबार म्याराथनमा रजत जितेपछि उनले बुवालाई फोन गरेर खुसी साटिन्।

‘पढेर जिल्लाको राम्रो मान्छे हुन्छेस् जस्तो लागेको थियो। तर खेलेर राष्ट्रकै राम्रो मान्छे भइस्, धेरै खुसी लागेको छ,’ उनका बुवाले फोनमा कुरा गर्दै बधाई दिए।

बधाईका सन्देश आइरहँदा २ घन्टासम्म कुदेको पीडा बिर्सने उनले बताइन्।

‘साढे २ घण्टासम्म दौडिदा धेरै गाह्रो हुन्छ। फेरि पछाडिकोले भेट्छ भन्ने पीर अनि अगाडिले कसरी भेट्ने अर्को पीर, दुइटा पीरले थिचिरहेर दौडिँदा मरेको जस्तो हुन्छ,’ उनले भनिन्, ‘जितेपछि सबैले बधाई दिँदा सबै पीडा भुलिने रहेछ।’

 

साभार:- नारायण महर्जन/सेतोपाटी