बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई पक्राउ गरेकाे हो ।

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि साहलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले बताए । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

२ लाखसहित नासु पक्राउ

सप्तरीको राजविराजस्थित तैतरीगाछीबाट सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले मङ्गलबार साँझ एक नायब सुब्वा (नासु)लाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सप्तरीको महदेवा गाउँपालिका–६ का वडा सचिव तथा नासु नवोनाथ मिश्रलाई सेवाग्राहीबाट रु दुई लाख घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद ढकालले बताए।

उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले राजविराजस्थित तैतरीगाछीको एउटा चिया पसलमा जन्मदर्ता प्रमाणपत्रसम्बन्धी कागजात बनाइदिने भन्दै सेवाग्राहीसँग नासु मिश्रलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेका मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी ल्याई आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको सुचना अधिकारी ढकालले बताए । रासस